फ्रेण्ड्स सिनेमाजमा ‘जारी २’ टिम र दर्शकबीच उत्साहपूर्ण भेटघाट

फ्रेण्ड्स सिनेमाजमा ‘जारी २’ टिम र दर्शकबीच उत्साहपूर्ण भेटघाट

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएपछि देशभर हलहरूमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । विशेषगरी पूर्वी नेपालका सहरहरूमा यसको प्रभाव झनै गहिरो देखिएको छ । यही क्रममा फिल्मका निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि धरान पुगेका थिए ।

फ्रेण्ड्स सिनेमाज धरान मा आयोजित सो भेटघाट कार्यक्रममा दर्शकको उपस्थिति अत्यधिक रह्यो । पहिलो दिनदेखि नै हल हाउसफुल रहँदै आएको छ भने बुकिङ आक्रमक रूपमा अगाडि बढिरहेको छ । दर्शकले फिल्मका दृश्य, संवाद र सांस्कृतिक प्रस्तुतीलाई विशेष रुचि देखाएका छन् ।

गृहथलो धरानमै दर्शकसँग साक्षात्कार गर्न पाउँदा अभिनेत्री मिरुना मगर विशेष रूपमा भावुक भइन् । उनले भनिन्, “धरान फर्किँदा सधैं घर फर्किएको जस्तो महसुस हुन्छ । दर्शकको माया र उर्जा देख्दा अझै उत्साहित भएकी छु।”

निर्देशक उपेन्द्र सुब्बाले पनि दर्शकको उत्साहले टिमलाई थप हौसला मिलेको बताए । स्थानीय कथावस्तु, लिम्बु संस्कृति र पूर्वी भूगोलमा आधारित दृश्यहरूले पूर्वी दर्शकसँग फिल्मलाई गहिरो सम्बन्धमा बाँधेका छन् ।

यसैबीच, टिमले दर्शकको सुझाव र प्रतिक्रियालाई ध्यानमा राख्दै फिल्ममा केही दृश्य थपेको जनाएको छ । हाल फिल्ममा करिब १४ मिनेट नयाँ दृश्य समावेश गरिएको छ, जसपछि यसको कुल रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ ।

धरानदेखि दमक र इटहरीसम्मका हलहरूमा ‘जारी २’ लगातार हाउसफुल शो चलिरहेका छन्, र पूर्वी दर्शकको उत्साह अझै बढ्दो छ ।