नेपाली फिल्म अभिमन्यु च्याप्टर १ आउँदो फुलपातीमा रिलिज हुने भएको छ। सोही दिन तीन नेपाली फिल्महरू—हरिबहादुरको जुत्ता, बलिदान र माइतीघर पनि प्रदर्शनको तयारीमा छन्।
जेनजी आन्दोलनका कारण रोकिएको अभिमन्यु सुरुमा भदौ २७ मा रिलिज हुने भनिएको थियो। तर पछि निर्माण पक्षले विज्ञप्ति जारी गर्दै नेपाली संस्करण असोज १३ र हिन्दी संस्करण असोज १७ मा रिलिज हुने जानकारी दिएको थियो। असोज ३ मा जारी २ रिलिज हुने भनिए पनि स्थगित भई कार्तिक २१ मा सरेपछि त्यो डेट खाली रहेको थियो। यहीँ कारण, असोज ३ मा उपयुक्त समय हुदाहुदै पनि अभिमन्युलाई फुलपातीमै ल्याइएको भन्दै धेरैले प्रश्न उठाएका छन्।
यता उपत्यका बाहिरको वितरणको जिम्मा पाएको कुबेर सिने डिस्ट्रीब्युसनले भने अभिमन्युबाट हात झिकेको छ। कारण, कुबेरले पहिले नै फिल्म बलिदानसँग फुलपातीमै रिलिज गर्ने सम्झौता गरिसकेको थियो। सोही मितिमा अभिमन्यु आउने भएपछि व्यवस्थापनमा समस्या पर्ने भएकाले वितरण नगर्ने निर्णय गरिएको हो।
यसवर्ष सिंगल–स्क्रिन सिनेमाघरहरूका लागि फुलपाती चुनौतीपूर्ण समय मानिन्छ, किनभने एकैदिन चारवटा नेपाली फिल्म रिलिज हुँदा शो व्यवस्थापन कठिन हुन्छ। तर निर्माता विनोद पौडेल भन्छन्, “कसैसँग जुध्ने वा जुधाउने हाम्रो उद्देश्य होइन। धेरै पछि जाने विकल्प पनि थिएन। असोज ३ मा डेट खाली भए पनि माहोल बिग्रिएको थियो।”
निर्माताको निर्णय साहसिक मान्न सकिन्छ, तर यसले ठूलो व्यावसायिक जोखिम पनि बोकेको छ। एउटै दिन चारवटा फिल्म आउनुले प्राइम शो व्यवस्थापन, दर्शक उपस्थिति र बक्स अफिस आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने उच्च सम्भावना छ। यसले सिनेमाघर र वितरकबीच समन्वयलाई जटिल बनाउन सक्छ भने उद्योग भित्र व्यवसायिक तनाव र विवाद बढ्ने सम्भावना पनि रहन्छ।
Comment