काठमाडौं । आगामी असोज १३ गते दशैँको अवसरमा फूलपाती देखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ले दर्शकलाई आकर्षित गर्न भव्य प्रचार रणनीति सार्वजनिक गरेको छ ।
फिल्मको कालजयी गीत ‘प्राण भन्दा प्यारो माईतीघर’को रिक्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता आगामी भाद्र दोस्रो सातादेखि सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी गराएका छन् । जसको विजेतालाई नगद पुरस्कार ५ लाख रुपैयाँ तोकिएको छ । यो रकम कुनै पनि नेपाली फिल्मको प्रचारका लागि राखिएको प्रतियोगिताको पुरस्कार राशिमध्ये अहिलेसम्मकै ठूलो हो । निर्माता रोहित अधिकारीका अनुसार समयमै सो गीत सार्वजनिक गरिनेछ र त्यसपछि प्रतियोगिता सुरु हुनेछ ।
देशभरका जोसुकैले सहभागी हुन पाउने यस प्रतियोगितामा सो गीतको अडियो क्लिप प्रयोग गरेर सामूहिक वा एकल नृत्य प्रस्तुत गर्नुपर्नेछ । भिडियो मोबाइलमै खिचेर समेत पठाउन सकिने सुविधा रहनेछ भने प्रतियोगिताको सम्पूर्ण विवरण छिट्टै सार्वजनिक गरिनेछ । फिल्म ‘माइतीघर’ मिलन तामाङको निर्देशनमा तयार भएको रोहित अधिकारी फिल्मस् प्रा.लि.को प्रस्तुति हो । जसमा तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको छ । रविन शेरचन र धिरज तामाङले लगानी गरेको यस फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन् ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र अष्ट महर्जनको एक्सन निर्देशन फिल्मको प्राविधिक बलियो पक्ष हो । यो फिल्मको गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र दिवंगत जयदेवको संगीत रहेको छ । फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । रोहित अधिकारीले यसपटक प्रचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै ‘माइतीघर’ दर्शकको अपेक्षाभन्दा बढी प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
Comment