वर्षको सुरुवातमै रिलिज भएको ‘ऊनको स्वीटर’ ले बक्स अफिसमा आश्चर्यजनक सफलता पाएपछि उद्योगले एक सकारात्मक संकेत देखेको थियो ।
कथात्मक गहिराइ, कलाकारको प्रभावशाली अभिनय र फिल्मले दर्शकको भावना छोएको कारण ‘ऊनको स्वीटर’ २०८२ सालको पहिलो ब्लकबस्टर फिल्म सावित भयो । तर त्यो सफलताको लहर अन्य फिल्महरूमा दोहोरिन सकेन । त्यसयता रिलिज भएका फिल्महरूले व्यवसायिक रूपमा खास प्रदर्शन गर्न सकेनन् । सिनेमाहलहरू सुस्त भइरहेका छन्, शो खाली देखिन्छन्, र दर्शकको उत्साह पनि केही खस्किएको छ । कतिपय मल्टिप्लेक्सहरूमा नेपाली फिल्मको शो कटौती गर्नुपरेको अवस्था समेत आएको छ । यस परिस्थितिको मुख्य कारण फिल्मको स्तर र कथा चयनमा आएको कमजोरी देखिन्छ । प्रचार-प्रसारमा केही फिल्महरूले सक्रियता देखाए पनि कथा, निर्देशन र सम्पादनको पक्षमा कमजोोरी देखिएको छ । तर अब भने चलचित्रकर्मी र दर्शक दुवैले आशा गर्न सक्ने समय आएको छ ।
आउँदो भदौ महिनामा नेपाली सिनेमा क्षेत्रले केही दमदार फिल्महरूको लाइनअप पाएको छ, जसले सुस्त बक्स अफिसमा पुनः जीवन फुक्न सक्ने अपेक्षा गरिएको छ । ६ भदौमा मात्र तीनवटा प्रतीक्षित फिल्म रिलिज हुँदैछन्,‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’। यीमध्ये ‘माग्ने राजा’ मा ख्यातिप्राप्त कलाकारको अभिनय रहेको छ, भने ‘जनै हराएको मान्छे’ मनोवैज्ञानिक र पारिवारिक थिममा आधारित बताइएको छ । ‘ताराहरू’ले भने सामाजिक यथार्थको कथा समेट्ने प्रयास गरेको छ ।
१२ भदौमा ‘कोसेढुंगा’ रिलिज हुँदैछ । सामाजिक कथावस्तुमा निर्माण भएको फिल्मलाई सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । १३ भदौमा ‘गुन्यु चोली’ आउने पक्का भएको छ । समुन्द्र भट्ट निर्देशित फिल्मले लैंगिक अल्पसंख्यक पारालिंगी समुदायको कथा भन्छ । नाजिर हुसेनले पारालैंगिक पात्रमा नृत्य र अभिनय गरेर प्रशंसा पाएका छन् ।
२० भदौमा दुईवटा फिल्म,‘चिठ्ठी’ र ‘रिमाई’ प्रदर्शन हुँदैछन् । कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको रिमैले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गर्छ ।
भदौको अन्त्यतिर, २७ गते रिलिज हुने ‘अभिमन्यु: च्याप्टर १’ भने पूर्ण रूपमा एक्सन र रहस्यले भरिएको नयाँ फ्रेन्चाइजको शुरुवात हो भन्ने चर्चा छ ।
हाल बक्स अफिस सुनसान देखिए पनि यी फिल्महरूले हलमा दर्शक फर्काउन सक्ने आधार प्रस्तुत गरेका छन् । तर सफलता केवल स्टारकास्ट र प्रचारमा होइन । कथा, निर्देशन, अभिनय र सम्पूर्ण फिल्मको प्रस्तुति बलियो भए मात्र सम्भव हुन्छ । समग्रमा भदौ महिना नेपाली फिल्म क्षेत्रका लागि निर्णायक हुने देखिन्छ । एकपछि अर्को आशालाग्दा फिल्म रिलिज हुँदै जाँदा यसले सिंगो उद्योगलाई नयाँ ऊर्जा दिन सक्नेछ । तर यसको निर्णायक कुरा भनेको ‘फिल्म आफैँ कत्तिको राम्रो छ’ भन्ने नै हो । अब जिम्मेवारी दर्शकको मात्र होइन, फिल्म निर्माण गर्ने सम्पूर्ण टोलीको पनि हो । दर्शकलाई केवल हलसम्म तान्ने होइन, फिल्म हेरेर सन्तुष्ट भएर बाहिर निस्कने बनाउने । यदि यी फिल्महरूले त्यो स्तर पुर्याउन सके भने, ‘ऊनको स्वेटर’को एक्लोपन सकिएर, नेपाली फिल्म पुनः घरघरमा चर्चा हुने अवस्थामा पुग्न सक्छ ।
Comment