सन्तोष सेनको ‘हुतुतु’ च्यालेन्जमै सीमित

सन्तोष सेनको ‘हुतुतु’ च्यालेन्जमै सीमित

निर्माता सन्तोष सेनले करिब पाँच वर्षअघि घोषणा गरेका थिए, कमेडी ड्रामा फिल्म ‘हुतुतु’। प्रदीप खड्का र पल शाह पहिलोपटक एउटै स्क्रिनमा देखिने खबरले दर्शकको उत्साह उच्च थियो। कलाकारको लाइनअप पनि कम थिएन । हरिवंश आचार्यदेखि राजाराम पौडेल, माओत्से गुरुङ, नाजिर हुसेन, सलोन बस्नेतसम्मको उपस्थितिले फिल्मलाई मल्टीस्टार प्रोजेक्टको रूपमा हेरिएको थियो।

तर त्यो उत्साह र चर्चाले पाँच वर्ष बितिसक्दा पनि फिल्मलाई पर्दामा ल्याउन सकेको छैन। ‘हुतुतु’ को नाम त सुन्न पाइन्छ तर फिल्मको काम भने अघि बढेको छैन।

निर्माण पक्षले सामाजिक सञ्जालमा ‘हुतुतु च्यालेन्ज’ नामक अभियान चलाएर ट्रेन्ड बनाउन सफल भयो, तर त्यो च्यालेन्ज नै फिल्म परियोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि सावित भएको छ। दर्शकहरू अझै फिल्मको प्रतिक्षामा छन्, तर घोषणा बाहेक कुनै ठोस खबर नआएपछि उत्साह क्रमशः मन्द हुँदै गएको छ।

फिल्मको निर्देशन सन्तोष सेन र छेतन गुरुङले संयुक्त रूपमा गर्ने भनिएको थियो। तर गुरुङको असामयिक निधनपछि फिल्मको भविष्य थप अन्योलमा परेको देखिन्छ। न स्क्रिप्टबारे अपडेट छ, न छायांकनको सुरुवातको कुनै समयसीमा।

यता सन्तोष सेन अहिले दशैं लक्षित नयाँ फिल्म ‘बलिदान’ मा व्यस्त छन् भने ‘हुतुतु’ अझै घोषणा र च्यालेन्जको सिमाना भित्रै अड्किएको छ ।