निर्देशक सन्तोष सेनको फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ५० सेकेन्ड लामो यो टिजरले दर्शकलाई एक्सन, क्रोध, संवेदना र देशभक्तिको मिश्रण अनुभव गराएको छ।
टिजरको सुरुवात बिराज भट्टको भ्वाइसओभर संवादबाट हुन्छ, जसले कथा बदलाको वरिपरि घुम्ने संकेत गर्छ। गाउँमा हुने अत्याचार, अन्याय र वैरीहरूको कब्जा रोक्न नायकको उदय हुने कथा यसले देखाउँछ।
सौगात मल्ललाई मसाल बोकेर विद्रोही भावमा प्रस्तुत गरिएको छ भने ऋचा शर्माको संवाद “अन्याय रोक्न नायक आइदेओस्” ले टिजरमा भावनात्मक गहिराइ थप्छ। अर्पण थापा राजनेताको रूपमै देखा पर्छन् भने हेमन्त बुढाथोकीको राजसी अवतारले कथामा अर्को रंग थपेको छ। निर्देशक सेन स्वयं पनि आदिवासी पात्रको रूपमा प्रस्तुत भएका छन्।
टिजरको बीचतिर प्रवेश गर्ने समीर भट्टलाई ‘एक्सन किङ’ का रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनको लडाइँ दृश्यले दक्षिण भारतीय फिल्मको झल्को दिन्छ। ठूलो स्केल, शक्तिशाली संवाद, र अत्यधिक एक्सन प्रधान दृश्यहरूले टिजरलाई ‘साउथ मूड’ मा ढालेको अनुभूति हुन्छ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्।
दर्शकको उत्सुकता बढाएको यो टिजरले फिल्मलाई ठूलो पर्दामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अझै खुला छ। तर यसले दिएको ऊर्जा र प्रस्तुतिले भने दर्शकलाई दशैंमा ‘बलिदान’ हेर्ने माहोल बनाइसकेको छ।
Comment