सपना र संघर्षको भिडन्त!

सपना र संघर्षको भिडन्त!

नेपाली समाजमा वैदेशिक रोजगारीको सपना केवल कमाईको अवसर होइन, जीवन बदल्ने आशा पनि हो। तर, यो सपनाको बाटो कहिल्यै सजिलो हुँदैन। यही वास्तविकता, सम्बन्धको जटिलता र व्यक्तिगत संघर्षलाई समेटेर पेपरक्लिप ब्यानरले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ तयार पारेको छ। हिमाल न्यौपाने निर्देशित यो फिल्मको केन्द्रमा छन् विजय बराल, जो सर्वकालीन हिट ‘पूर्णबहादुरको सारंगी’पछि पहिलो पटक मुख्य भूमिकामा देखिँदैछन्। प्रायः हास्य र सहायक भूमिकामा चिनिएका बराल यसपटक गहिरो भावनात्मक र बहुआयामिक पात्रको रूपमा उभिएका छन्, जसले उनको अभिनय यात्रामा नयाँ अध्याय सुरु गराउने अपेक्षा गरिएको छ।

फिल्ममा महिला पात्रहरूको योगदान समान रूपमा शक्तिशाली छ। मिरुना मगरको पात्रले प्रेम, साथ र जीवनमा आशाको रंग भर्छ भने केकी अधिकारीको भूमिकाले पारिवारिक पीडा र घरेलु हिंसाको यथार्थ उजागर गर्छ। यी पात्रहरू केवल कथा सुन्दर बनाउनका लागि होइन, घटनाक्रमलाई दिशा दिने मूल आधारका रूपमा प्रस्तुत भएका छन्।

कथामा नेपाली युवाको विदेश जाने चाहना, विशेष गरी दक्षिण कोरिया पुग्ने सपना, तयारीका कठिनाइ, राजधानीमा भोगिएको ठगी र बाध्यताले गराएका कठिन कामहरू सजीव छन्। यस्ता अनुभव धेरै नेपालीको वास्तविक जीवनसँग मेल खाने भएकाले फिल्मले गहिरो सामाजिक सन्देश बोकेको छ।

भदौ ९ गते रिलिज हुने फिल्मको ट्रेलरले नै दर्शकलाई भावनात्मक यात्रामा डुबाउने संकेत दिएको छ। सुव्यवस्थित लय, प्रभावकारी दृश्य र मन छुने संगीतको संयोजनले दर्शकलाई कोरिया जाने तयारीदेखि काठमाडौंको कठोर यथार्थसम्मको सम्पूर्ण अनुभव महसुस गराउने वाचा गर्छ। विजय बरालको अभिनय रूपान्तरण, महिला पात्रहरूको गहिरो योगदान, प्रवासी सपना र पेपरक्लिपको दृष्टि । यी सबै कारणले ‘जनै हराएको मान्छे’ यस वर्षको प्रतीक्षित नेपाली फिल्मको सूचीमा मजबुत रूपमा अडिएको छ।