प्रदीपको साइन्स फिक्सन- थ्रीलर फिल्म

प्रदीपको साइन्स फिक्सन- थ्रीलर फिल्म

काठमाडौं । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ को क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक महत्वपूर्ण घोषणा गरे ।नेपाल र भुटानको संयुक्त सहकार्यमा एक फिल्म बन्न लागेको र दुई मुलुकबीच बजार विस्तार र निर्माणको क्षेत्रमा सहकार्य हुन लागेको उनले बताएका थिए ।

अध्यक्ष डीसीले यी कुरा भन्दै गर्दा कार्यक्रममा सहभागी भुटानी अभिनेता सांगे सेल्ट्रिमलाई सबैसामु परिचय पनि गराए । अभिनेता सांगे र उनका ‘ऐरी’ को-स्टार प्रदीप खड्का पनि एकसाथ थिए ।
अध्यक्ष डीसीले घोषणा गरेको यो नेपाल-भुटान संयुक्त सहकार्यको फिल्मलाई लिएर महत्वपूर्ण विकास भएको छ । अझ भनौं, यो फिल्ममा भारतीय प्राविधिकको पनि संलग्नता हुनेछ ।
आउँदो नोभेम्बरदेखि यो साइन्स फिक्सन, हरर र थ्रीलर जनरा मिश्रण भएको फिल्मको छायांकन सुरु हुँदैछ । भुटानी निर्देशकले निर्देशन गर्ने यो फिल्मको शीर्ष भूमिकामा सांगेसहित प्रदीप खड्का हुनेछन् । चरित्र कलाकार भुटानबाट लिने र छायांकन पनि भुटानमै गर्ने तयारी छ ।

स्रोतका अनुसार, यो फिल्मको लागि नेपाली अभिनेत्रीहरू आना शर्मा र साम्राज्ञी शाहसँग चरणबद्ध कुरा भैरहेको छ । यद्यपि, यो समाचार लेख्दासम्म कुनै कलाकारले साइन गरिसकेका छैनन् । यो फिल्ममा प्रदीप जोडिने पक्काजस्तै छ ।‘ऐरी’पछि यो फिल्मको छायांकन गर्ने तयारी छ । फिल्ममा सबै प्राविधिक भारतबाट लिने कुरा छ । अध्यक्ष डीसीले भनेजस्तै, यो फिल्मले नेपाल, भुटान र भारतबीच त्रिपक्षीय सहकार्य र बजार विस्तारमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मको शीर्षक तय भैसकेको छ । यद्यपि, निर्माता खुलाउन चाहेनन् । अभिनेता सांगे केही महिनायता नेपालमा ‘ऐरी’को छायांकनमा ब्यस्त छन् । यो फिल्मको छायांकन अझै बाँकी छ ।