‘प्रसाद २’ का निर्माता सुभास थापा बैंकिङ कसुरमा दोषी ठहर

‘प्रसाद २’ का निर्माता सुभास थापा बैंकिङ कसुरमा दोषी ठहर

फिल्म ‘प्रसाद २’ का निर्माता सुभास थापा बैंकिङ कसुर अन्तर्गतको मुद्दामा दोषी ठहरिएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई कैद सजायसहित जरिवाना पनि तोकेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

असार २९ गते न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो। व्यवसायी केशव पाण्डेले थापाविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका थिए। पाण्डेका अनुसार थापाले आफूलाई ‘प्रसाद २’ को निर्माता बनाउने भन्दै ६२ लाख ५० हजार रुपैयाँ लिएका थिए। तर पछि अर्कै व्यक्तिलाई निर्माता बनाएर फिल्मको छायांकन अघि बढाएका थिए।

सोधिएको रकमवापत थापाले दिएको चेक नसाटिएपछि पाण्डेले अदालतमा उजुरी दिएका थिए। सोही मुद्दामा थापा दोषी ठहरिएका हुन्।

विवादको बीचमै फिल्म ‘प्रसाद २’ प्रदर्शनमा आएको थियो। सुदर्शन थापाको निर्देशनमा बनेको यस फिल्ममा विपिन कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय थियो। तर फिल्मले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन।