विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘जनै हराएको मान्छे’ को टिजर सार्वजनिक भएको छ। हिमाल न्यौपाने निर्देशित फिल्म आउँदो ६ भदौ (२२ अगस्ट) बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।
सार्वजनिक टिजरले हालको नेपाली समाजमा व्याप्त युवाको परदेश मोहलाई प्रतिनिधित्व गरेको छ। टिजरको सुरुआतमा विजय बराल गाउँमा छन्, जहाँ कोरियाबाट फर्किएको एकजना पात्रसँग उनी सोध्छन्, “कोरिया जान के गर्नु पर्छ?” यही जिज्ञासाले उनलाई काठमाडौंसम्म ल्याउँछ। यहाँ उनी भाषा कक्षामा सहभागी हुन्छन्, कोरियन भाषा सिक्न संघर्ष गर्छन्।
टिजरमा देखिने कथा गाउँबाट कोरियाको सपना देख्दै काठमाडौं आउने युवाको यथार्थ यात्रा हो। लाखौं नेपाली युवाको जीवन भोगाइलाई छोटकरीमा समेट्ने टिजरले दर्शकको ध्यान तानेको छ।
टिजरमा विजय बरालको अभिनय दमदार देखिन्छ। संवाद, हाउभाउ र भावनात्मक अभिव्यक्तिले उनी पात्रसँग एकाकार भएको अनुभूति हुन्छ। मिरुना मगरसँगको केमेस्ट्री सहज र आत्मीय देखिएको छ भने केकी अधिकारी दिदीको भूमिकामा देखिन्छन्, जसले पारिवारिक सम्बन्ध र भावना थप बलियो बनाएको छ।
‘जनै हराएको मान्छे’ टिजरले हास्य, संघर्ष र संवेदनाको त्रिकोणीय मिश्रण प्रस्तुत गर्छ। यो फिल्म पेपरक्लिप ब्यानरमा निर्माण भएको हो, जसका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। फिल्ममा गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको पनि प्रमुख भूमिका छ।
यसअघि फिल्म ‘पूर्णबहादुरको सरङ्गी’ मा जीवन्त अभिनयमार्फत दर्शकको मन जितेका विजयले फेरि एकपटक यस्तै आत्मीय र यथार्थपरक पात्र मार्फत पर्दामा फर्किएको संकेत टिजरले दिएको छ। टिजरको ब्याकग्राउन्ड म्युजिक इमोसनल र प्रभावशाली छ, जसले दृश्यहरूलाई थप जीवन्त बनाएको छ।
फिल्मको टिजर हेर्दा लाग्छ, ‘जनै हराएको मान्छे’ केवल एउटा पात्रको कथा होइन, यो हजारौं नेपाली युवाको कथा हो ।
Comment