‘मैझारो’मा बाँधिँदै धीरज र मिरुनाको जोडी

‘मैझारो’मा बाँधिँदै धीरज र मिरुनाको जोडी

अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले एकपटक फेरि फिल्ममा सहकार्य गर्ने भएका छन् । कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’मा उनीहरुको जोडी बाँधिन लागेको हो । यसअघि उनीहरुले फिल्म ‘कुस्ती’मा एकसाथ काम गरिसकेका छन् । यो फिल्म रिलिज हुन बाँकी छ ।

सोमबार धीरजलाई फिल्ममा अनुबन्ध गरेका विल्सनले मंगलबार मिरुनासँग लिखित सम्झौता गरेका हुन् । यसै साता कलाकारको पूर्ण लाइनअप तयार पारेर आगामी साउन पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । फिल्ममा विल्सन स्वयंको लेखन रहेको छ । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राईको गायन तथा सौरभ लामाको छायांकन रहनेछ । फिल्मलाई पूर्वी पहाडी भेग इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतामा फिल्म आधारित हुने जनाइएको छ ।